नेकपा स्थायी कमिटी बैठक सुरु

-


     मर्दी न्युज    
     १७ असार २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मदन जयन्तीको दिन दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि परेको आवेदनका विषयमा बोल्न बाँकी स्थायी कमिटी सदस्यले आफ्नो विचार राख्नेछन् ।

स्थायी कमिटीका १८ जना सदस्यले अहिलेसम्म यो विषयमा आफ्नो धारणा राखेका छन् । जसमा प्रधानमन्त्री ओलीबाहेका १७ जनाले नै ओलीको राजीनामा माग गरेका छन् । सबैजनाले राजीनामा माग गरेपछि मंगलबारको बैठकबाट प्रधानमन्त्री बाहिरिएका थिए । उनले बैठकको सुरुवातमा र बैठक चल्दैगर्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सहित १७ जनाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको र पार्टी नेताहरु पनि त्यसमै लागेको आरोप लगाएपछि नेकपामा विवाद उत्कर्षमा पुगेको छ । त्यस्तै निर्वाचन आयोगमा ओलीले नै नेकपा एमाले नाममा पार्टी दर्ता गर्न लगाएको आरोप लागेको छ ।