साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गरिने

-


     मर्दी न्युज    
     १८ असार २०७७ मा प्रकाशित


काठमाडौं । साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारले निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको सो प्रावधान साउन ७ गतेसम्मका लागि बढाएको हो ।

अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने जानकारी गराएका छन् । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ ।

त्यस्तै सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अर्थात् करिब रु ३० करोड ८० लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री समेत रहेका डा खतिवडाले जानकारी दिए ।

यस्तै बोराङ नौबिसे २२० केभी प्रसारण लाइन आयोजना र कुशाहा–विराटनगर १३२ केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कारवाही गर्ने अधिकारी क्रमशः सहायक लेखा अधिकृत प्रल्हादकुमार कार्की र सहायक प्रशासकीय अधिकृत कृष्णकुमार खड्कालाई तोक्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

सर्लाहीको रामनगर गाँउपालिका–४ बस्ने मृतक रामजलम रायको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराइने भएको छ । त्यस्तै बैठकले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको आर्थिक वर्ष २०७६÷७७ को लागि नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव एक, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव एक गरी दुई वटा अस्थायी दरबन्दी नवीकरण स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्री डा खतिवडाका अनुसार भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश पहिलो संशोधन, २०७७ समेत स्वीकृत गरिएको छ ।