चर्चित बलिउड कोरियोग्राफर सरोज खान हृदयघातका कारण निधन

-


     मर्दी न्युज    
     १९ असार २०७७ मा प्रकाशित


एजेन्सी । बलिउडकी चर्चित नृत्य निर्देशक (कोरियोग्राफर) सरोज खानको बिहीबार राति ७२ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो।
बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास‘ सिनेमाको ‘डोला रे डोला’ माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन्।

सन् १९७४ मा ‘गीता मेरा नाम’बाट कोरियोग्राफरको रुपमा काम गरेकी उनले श्रीदेवी र माधुरी दीक्षितसँग काम गरेपछि उनको करियर नयाँ उचाइमा पुगेको हो । मिस्टर इण्डिया, नागिन, चाँदनी, तेजाब र थानेदारमा उनले कोरियोग्राफ गरेका चर्चित फिल्महरु हुन् ।

१३ वर्षको उमरमा विवाह भएकी सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।