काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्वप्रति आक्रोशित बनेका छन् । नेपाली कांग्रेसका पूर्व—सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा उनी विद्यार्थीहरूसँग संगठन निर्माणमा नलागेको भन्दै आक्रोशित बनेका हुन ।
गाउँगाउँमा, स्कुल–स्कुलमा संगठन विस्तार नगरी काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै उनले नेविसंघप्रति आक्रोश व्यक्त गरे ।
उनले आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने बताएका हुन ।
शुक्रबार देउवाले कोरोना महामारीमा किन कार्यक्रम राख्नुपर्यो भन्दै कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो भन्दै आक्रोश पोखे । ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, तर यहाँ टाँस्सेर बसिरहेको छ,’ कार्यक्रममा सामाजिक दूरी कायम नगरेकोप्रति लक्षित गर्दै देउवाले थपे, ‘अहिले यो खतरा रोग आएको छ। सामाजिक दूरी कायम गर्नुस्। टाँस्सेर बसेर केही हुनेवाला छैन।’