बालुवाटार बैठक सकियो, भोलि पनि छलफल गर्ने

-


     मर्दी न्युज    
     १९ असार २०७७ मा प्रकाशित


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा भइरहेको वार्ता सकिएको छ । करिब सवा दुई घण्टा लामो चलेको वार्तामा भएको छलफल र निष्कर्षबारे भने जानकारी गराइएको छैन । बिहान साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो ।

अध्यक्षद्वय बीचका बैठकमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको जनाइएको छ । बैठकमा अध्यक्षद्वयसँग महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरको पनि उपस्थिति रहेको थियो ।

बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुवै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ ।

पछिल्लो केही दिनयता नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेपछि दलका नेताहरूले दुई अध्यक्षबीच सहमति हुनुपर्ने र पार्टी फुट्नबाट जोगाउनुपर्ने दबाव दिइरहेका बेला दुई अध्यक्षबीच वार्ता भएको हो । शनिबार बिहान ११ बजे पार्टीको स्थायी कमिटीको बैठक आव्हान गरिएको छ । सोअघि सहमतिमा पुग्नैपर्ने दबाव दुवै अध्यक्षलाई छ ।

बिहानदेखि दोस्रो पुस्ताका नेताहरूको पनि सक्रियता बढेको छ । दुई अध्यक्षको नेतृत्वमा पार्टी एकता गरिएकाले अहिले देखिएको समस्याको समाधान पनि दुई अध्यक्षले दिनुपर्ने सुझाव दोस्रो पुस्ताका नेताहरूको छ ।