काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाईन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताए ।
शुक्रवार विभिन्न नौ पर्यटन ब्यवसायी संगठनहरुको माग तथा सुझाव बुझ्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले कोरोना संक्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने संकेत गदै नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताब लिएर आउन ब्यवसायीलाई आग्रह गरे ।
मन्त्री भट्टराईले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिदै भने,‘तपाईहरु स्वास्थ्य प्रोटोकल सहितको प्रस्ताब लिएर आउनुहोस म सिसिएमसी र क्याविनेटमा लगेर निर्णय गर्ने कोसिस गर्छु ।’
पर्यटन ब्यवसायीहरुले कोरोना भाईरसका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै मन्त्री भट्टराईसँग लकडाउन खुलाउन माग गरेका छन ।
माग पत्रमा व्यसायीहरुले चार्टर फ्लाईडहरुको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशिघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालीका अनुसार सञ्चालन गर्न माग गरेका छन् ।
त्यस्तै हरियो प्लेटका पर्यटकीय सवारी साधन संचालनको लागि अनुमति दिन र हिमाल सफाईको कार्यहरु सञ्चालन र नयाँ हिमाली गन्तब्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्यहरु तत्काल शुरु गर्न माग समेत व्यवसायीहरुले गरेका छन् ।
मन्त्री भट्टराई समक्ष नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स,ऐजेन्ट,सोसाईटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल,होटल एसोसिसन नेपाल,नेपाल एसोसिएसन अफ टुर अपरेटर्स, ट्रेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ राफिटङ ऐजेन्सी, नेपाल पर्वतरोहण संघ,टुरिस्ट बस एसोसिसन अफ नेपाल र नेपाल पर्यटक यातायात ब्यवसायी संघका अध्यक्षले सामुहिक रुपमा माग तथा सुझाव राखेका हुन् ।
क्वारेन्टाइनको व्यवस्थापनमा कमजोरी भयोः
आज शुक्रवारै मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै मन्त्री भट्टाराईले कोभिड १९ नियन्त्रणमा सरकारले गरेका प्रयत्नहरु सकारात्मक भएको पनि बताए । सरकारले गरेका कतिपय कामहरु सकारात्मक हुँदा हुँदै पनि क्वारेन्टाइन व्यवस्थापनमा चुकेको बताए ।
‘क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग नहुँदा पनि संक्रमण बढ्यो । दक्षिण तिरको सीमाका कारण कोरोनाको ग्राफ बढ्यो’, उनले भने, ’दक्षिण एसियाका देश र अन्य देशको तुलनामा हाम्रा प्रयत्न सकारात्मक छन । आंकलन गरे भन्दा धेरै मानिस खुला सीमानाबाट प्रवेश गरे । त्यसकारण क्वारेन्टाइन ब्यवस्थित हुन सकेनन ।’ उनले भने ।
पत्रकारहरुसँग कुरा गर्दै उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण डिसेम्बर सम्ममा सकिने र त्यसको तीन महिनामा संचालन हुने बताए । लकडाउनको अवधिमा त्रिभुवन विमानस्थलको ३ सय मिटर धावनमार्ग बनाउने काम भएको भट्टराईले बताए । पर्यटन क्षेत्रमा १० खर्व भन्दा बढी लगानी भएको र त्यसको सुरक्षाको लागि सरकार लागिरहेको उनले बताए । पर्यटनमा साढे २ लाख प्रत्यक्ष रोजगारी र अप्रत्यक्ष ८ लाख मानिस रोजगारीमा रहेको उनले जानकारी दिए ।