गोरखा अस्पतालमा कोरोना संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     २० असार २०७७ मा प्रकाशित


पोखरा, २० असार । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको आज शनिवार बिहान ५ बजेर ५ मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको हो ।

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको मृत्यु भएको जानकारी दिए । डा. थापाका अनुसार डाइबिटीजको दीर्घरोगीसमेत रहेका ती पुरुषको हिजो शुक्रवार साँझ ९ः५५ बजे मात्र कोरोना पुष्टि भएको थियो । उनको गोरखा अस्पतालको आइसोलेसनमा राखेर उपचार हुँदै आएको थियो ।

शनिवार बिहान गोरखाका ४४ वर्षीय पुरुषको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।



Tags: