पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना संक्रमण पुष्टि, थप दुई जनाको मृत्यु

-


     मर्दी न्युज    
     २० असार २०७७ मा प्रकाशित


पोखरा, २० असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।

यो सँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

शनिवारसम्म पीसीआर विधिबाट २ लाख ४६ हजार २ सय ९७ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म ३ लाख १० हजार ३ सय जनाको परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ३३ हजार १ सय २५ जना रहेका छन् भने ९ हजार ४२ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

यस्तै कोरोना भाइरस संक्रमणबाट थप दुईको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा असार २० गते शनिबार बिहान ५ बजे मृत्यु भएको बताए । उनी मधुमेहका बिरामी थिए । उनको असार १९ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनी १७ गते कतारबाट नेपाल फर्किएका थिए ।

त्यसैगरी मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको असार १७ गते मृत्यु भएको र कोरोना रिपोर्ट पोजिटिभ भने असार १८ गते आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ६ हजार चार सय २५ पुगेको छ ।