नेकपा अध्यक्ष प्रचण्ड, नेपाल र खनाल राष्ट्रपति निवासमा

-


     मर्दी न्युज    
     असार २१ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । वरिष्ठ नेता खनालका अनुसार तीन पूर्वप्रधानमन्त्री नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका बताए ।

नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड सहितका नेताहरु शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले शनिवार साँझ राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद सदस्यहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले राष्ट्रपतिविरुद्ध समेत खुमलटारमा प्रचण्ड पक्षधर नेताहरुले षडयन्त्र गरेको आशय व्यक्त गर्दै जुनसुकै कदम चाल्नुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई कित्ता क्लियर गर्न पनि निर्देशन दिएका थिए ।