ढलमा भाइरस देखियो भन्दैमा नआत्तिनूः स्वास्थ्य मन्त्रालय

-


     मर्दी न्युज    
     २१ असार २०७७ मा प्रकाशित


पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा कोरोना भाइरसका टुक्राटुक्री देखिएपनि समुदायमा फैलिएको भन्न नमिल्ने बताएको छ । मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको हो ।

संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिएपनि सर्ने खालको नभएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

‘ढलको पानीमा कोरोना संक्रमण सार्ने जिवाणुको अंश भेटिँदैमा समुदायमा सर्ने जोखिम रहन्न ।’ उनले भने, ‘उक्त अध्ययन ढलको पानीमा विषाणुको मात्रा बुझेर संक्रमणको अवस्था बुझ्ने पूरक विधि हो, तसर्थ नआत्तिन र नडराउन आग्रह गर्छौं ।’
एक निजी प्रयोगशालाले गरेको अध्ययनमा काठमाडौँको ढलको पानीमा कोरोना सार्ने विषाणु ‘आरएनए फ्राग्मेन्ट’ फेला परेको थियो ।

सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म बाँच्ने उनले जानकारी गराए । प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको बताए ।

विशेषगरी कोरोना संक्रमण स्वासप्रश्वासबाट, संक्रमित व्यक्तिले हाँछ्यु गर्दा वा खोक्दा नजिकमा रहेका व्यक्तिहरुलाई छिटाको माध्यमबाट वा संक्रमितका हातले छोएको कुनै पनि सतह भाइरस केही घन्टा वा केही दिनसम्म जीवित रहन सक्ने प्रवक्ता गौतमले बताए ।



Tags: