भारत बन्यो विश्‍वकै तेस्रो धेरै कोरोना संक्रमित मुलुक

-


     मर्दी न्युज    
     २२ असार २०७७ मा प्रकाशित


फाइल तस्विर

एजेन्सी । भारतमा तीब्र गतिमा कोरोना भाइरस संक्रमण बढेसँगै विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ। भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार नाघेको छ ।

योसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको छ । आइतबार साँझसम्ममा भारतमा ६ लाख ९० हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ ।
भारतमा गत तीन दिनमा नयाँ रेकर्ड कायम गर्दै सङ्क्रमितको सङ्ख्या लगातार बढेको थियो। हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ। यसभन्दा अघि तेस्रो स्थानमा रहेको रुसमा आइतबार साँझसम्म संक्रमितको संख्या ६ लाख ८० हजार २८३ रहेको थियो ।

भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । भारतमा पछिल्लो एक दिनमा मात्र करिब पच्चीस हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ । त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ । दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा सङ्क्रमितको सङ्ख्या एक लाख हाराहारीमा छन् । धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ ।

३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरु भएको भारतमा संक्रमण बढ्ने क्रमसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । भारतमा हालसम्म १९ हजार २६८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितहरुमध्ये ४ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् ।



Tags: