पोखरा । अब मास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए ।
लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको अधिकारीले बताए ।
‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरेका हौं,’ उनले भने, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुन्छ ।’
सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक, पसल तथा उद्योगमा मास्क, सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।