विश्व स्वास्थ्य संगठनले भन्यो, ‘हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भटियो’

-


     मर्दी न्युज    
     २४ असार २०७७ मा प्रकाशित


एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ । यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले गरेको अध्ययनले हावाबाट कोरोना सर्ने पुष्टि गरेको थियो । वैज्ञानिकहरूले कोरोनाबारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई पत्र नै लेखेका थिए । तर, वैज्ञानिकहरूले दिएको प्रमाण पर्याप्त नभएको जनाउँदै डब्लुएचओले सजगता मापदण्ड परिवर्तन गर्न मानेको थिएन । महामारीसँग जुध्न डब्लुएचओले गठन गरेको प्राविधिक समूहकी नेतृत्वकर्ता डा. मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले अध्ययनमै रहेपनि केहि प्रमाण भेटिएको बताएकी छन् ।

डब्लुएचओले बढी भीडभाड हुने र कम हावा हुने बन्द कोठामा हावाबाटै कोरोना भाइरस फैलिने आशंका अस्विकार गर्न नसकिने जनाएको छ । साथै, यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको डब्लुएचओले जनाएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्य रुपमा संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छ्टिटाको माध्यमले फैलने गर्ने बताउँदै आएको थियो ।

डब्ल्यूएचओले मानिसहरुले कम्तीमा ३.३ फुटको दुरी हुँदा कोरोनाभाइरस संक्रमणको रोकथाम सम्भव भएको बताउँदै आएको थियो तर अब यदि हावामार्फत् भाइरस फैलने कुरा प्रमाणित भएको खण्डमा ३.३ फुटको दुरी र सामाजिक दुरीको नियममा परिवर्तन गर्न आवश्यक छ । यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबी गरेका थिए ।