ओली-दाहाल दुई घन्टा छलफल, निस्किएन निष्कर्ष

-


     मर्दी न्युज    
     २४ असार २०७७ मा प्रकाशित


काठमाडौं । पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान–टु–वान वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दुई अध्यक्षबीच पार्टीभित्र पछिल्लो समय देखिएको चरम गुटबन्दी र घेरावन्दीको बिषयमा डेढ घण्टा लामो छलफल भएको हो ।

आज निकै गहन छलफल भएको र अर्को बैठकमा थप गृहकार्यसहित निकाश दिने सहमति दुई अध्यक्षबीच भएको स्रोतले बतायो ।

वार्ता पार्टीभित्रको समस्या एकमुष्ट ढंगले हल गर्ने गरी अघि बढेकोले समय लिएको हो, अब फेरि सरकारलाई काम गर्न नदिने, सरकारबिरुद्ध, प्रधानमन्त्रीबिरुद्ध घेरावन्दी गर्ने, पार्टी एकता टुंग्याउन नदिने जस्ता सबैखाले खेललाई समाप्त पार्ने निश्कर्षका साथ दुई अध्यक्षबीच छलफल जारी रहेको एक नेताले बताए । सोमबारदेखि नियमित बसिरहेको वान–टु–वान वार्ता सकारात्मक रुपमा अघि बढेको उनले बताए ।

सचिवालय र स्थायी समितिका बहुमत सदस्यले ओलीको राजीनामा मागेपछि आन्तरिक कलहले उग्र रुप लिएको हो। अध्यक्षद्वय ओली र प्रचण्डसँगै नेताहरुले विभिन्न चरणमा छलफल गरेपनि सहमति हुन सकेको छैन। प्रधानमन्त्री ओलीको समर्थनमा नेकपाका कार्यकर्ताले देशभर प्रदर्शन गर्न थालेपछि प्रचण्ड पक्षले त्यसको चर्को विरोध गर्दै आएको छ। केही केन्द्रीय सदस्यले भने पार्टी विवाद समाधानका लागि केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।