आजदेखि तीन दिनसम्म भारी वर्षा हुने, सचेत रहन आग्रह

-


     मर्दी न्युज    
     २५ असार २०७७ मा प्रकाशित


आजदेखि चार दिनसम्म देशका विभिन्‍न स्थानमा वर्षकै भारी वर्षा हुने प्रक्षेपण गर्दै क्षतिबाट जोगिन चनाखो रहन गृहमन्त्रालयले आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको हो । वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले भनेको छ, ‘भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको छ ।’

सम्भावित विपत्तिपछिको उद्धारका लागि ‘अलर्ट’ रहन प्राधिकरणले नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटीलगायतका निकायलाई पनि आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुन सक्ने भएकाले यस क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढ्न सक्ने प्राधिकरणको अनुमान छ । वर्षाकै कारण पहाडमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानको खतरा रहेको प्राधिकरणले जनाएको छ । ‘पहाडी क्षेत्रको खोलानाला तथा खहरेमा बाढी आउने सम्भावना छ । पहाडको माटो लामो वर्षाका कारण गलिसकेको हुँदा पहिरो जान सक्छ । त्यसैले चनाखो रहन आग्रह गर्दछौँ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्नसक्छ । ‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन विशेष आग्रह गर्दर्छौं’ सूचनामा भनिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुवानको खतरा पनि छ ।

प्राधिकरणका अनुसार ठूला नदी नालामा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं. ११४९ उपलब्ध हुनेछ ।

यस्तो छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको तीन दिनको मौसम पूर्वानुमानः

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

बिहीबार
देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार
देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार
देशभर सामान्य देखि पूर्ण बदली रही मुलुकका सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सातै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।