पोखरा, २८ असार । विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण जारी लकडाउनले जग्गासम्बन्धी कारोबार गर्ने (रियल स्टेट) व्यवसायीहरुलाई समेत प्रभाव पारेको भन्दै विगत ४ वर्षदेखि रोक्का गरेको जग्गाको कित्ताकाट खुला गर्न पोखराका रियल स्टेट व्यवसायीहरुले माग गरेका छन् ।
आइतबार पोखरामा पत्रकार सम्मलेनको आयोजना गर्दै गण्डकी जग्गा तथा आवास विकास संघले कोरोना महामारीका कारण संस्था र कम्पनीको अर्बौको लगानी निष्कृय भई तरलतामा समेत असर परेको भन्दै सहजताको लागि जग्गाको कित्ताकाट खुला गर्नुपर्ने बताएको हो ।
संसारका विकसित देशहरुले व्यवस्थित शहरीकरण, हाउजिङ्ग र अर्पाटमेन्ट निर्माणमा विशेष ध्यान दिएको उल्लेख गर्दै नेपालमा समेत कानुनी रुपमा नै रियल स्टेटमार्फत कारोबार गर्न इजाजत प्राप्त गरी सरकारले तोकेको मापदण्ड पूरा गरेका कम्पनीहरुबाट नै कारोबारको माग गण्डकी जग्गा तथा आवास विकास संघले गरेको छ ।
राज्यले जग्गा कित्ताकाटमा रोक लगाई राज्यबाटै व्यवसाय धराप भइरहेका बेला कोरोना महामारीले थप पीडा थपेको पोखराका रियल स्टेट व्यवसायीहरु बताए । व्यवस्थित शहरीकरणका नाममा खेती योग्य जग्गामा असर नपुग्ने गरी आफुहरुले संस्थागत हिसाबले काम गरिरहेको व्यवसायीहरुले बताए ।
राज्यले व्यवस्थित शहरीकरण गर्न रियल स्टेटलाई अन्य उद्योग व्यवसाय सरह मान्यता दिएको र प्रोत्साहन समेत गरेको वर्तमान समयमा नेपालमा भने ठिक उल्टो भएको व्यवसायीहरुले गुनासो पोखेका छन् । व्यवस्थित शहरीकरण र स्याटलाईट सिटीको निर्माण रियल स्टेट व्यवसायबिना सम्भव नरहेको उनीहरुको भनाई छ ।
नेपालमा स्पष्ट भूउपयोग नीति नहुँदा अव्यवस्थित बसोबास र शहरीकरणले थला पारेको व्यवसायीहरु बताउँछन् । जग्गा कित्ता काटमा रोक लगाउँदै अपारदर्शी गतिविधि मौलाउने अवसरको सृजना राज्यबाटै भएको उनीहरुको आरोप छ । कित्ता काट सहज बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई १० बुँदे निर्देशन दिएकाले पालना हुनुपर्ने उनीहरुको माग छ ।