![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/bhanubhakta-rayamayan.jpg?fit=850%2C550&ssl=1)
पोखरा, २९ असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती सोमवार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
यसैउपलक्ष्यमा भानु वाङ्मय प्रतिष्ठानले पोखरा ११ फूलबारीस्थित भानु प्रतिमास्थल पार्कमा सोमवार बिहान विशेष कार्यक्रम गर्ने भएको छ । भानु जन्मेको १०७ औं जन्मजयन्तीको अवसरमा पोखरा ११ फूलबारीमा उनको पूर्ण कदको प्रतिमा निर्माण भएको हो ।
सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत नेपाललाई एकीकरण गरेका थिए । विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ’, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लखेका थिए– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
भानु जयन्तीमा भानु नगरपालिकामा सार्वजानिक बिदा
तनहुँको भानु नगरपालिकाले असार २९ गते भानु जयन्तीका दिन सार्वजानिक बिदा दिने निर्णय छ । भानु जयन्ती मनाउनको लागि बिदा दिने निर्णय गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए । नगरपालिकाले गत वर्ष पनि भानु जयन्तीका दिन नगरपालिका क्षेत्रभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।
तनहुँको भानु नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिहरूलाई अनिवार्य बिर्खेटोपी लगाउनुपर्ने व्यवस्था गरेको छ । गत असार १ गतेदेखि उनीहरूलाई अनिवार्य रुपमा बिर्खेटोपी लगाउनुपर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । भानुभक्तकै नामबाट स्थापित भानु नगरपालिकाले भानुभक्तको सम्झना गराउने उद्देश्यले कर्मचारी र जनप्रतिनिधिहरूलाई अनिवार्य बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेको हो ।