प्रधानमन्त्रीले अयोध्याबारे बोलेपछि परराष्ट्र मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

-


     मर्दी न्युज    
     ३० असार २०७७ मा प्रकाशित


काठमाडौं । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन ।’

भारतका सञ्चारमाध्यमहरुले पनि यसलाई विशेष रुपमा प्रकाशित गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरे । त्यसपछि नेपालको परराष्ट्र मन्त्रालयले यसबारे आधिकारिक धारणा बाहिर ल्याएको छ ।

यस्तो छ विज्ञप्ति 
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्म जयन्ती समारोहका दौरान दिएको अभिव्यक्तीको धेरै तरिकाले व्याख्या भएकोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा यी विषयमा परराष्ट्र मन्त्रालय स्पष्ट पार्न चाहन्छ–

१ प्रधानमन्त्रीले दिएको अभिव्यक्ती कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कोही कसैको भावना र संवेदनामा चोट पु¥याउने नियत होइन । 

२ श्री राम र उनीसँग जोडिएका स्थानहरुका विषयमा विभिन्न किंवदन्ती र उदाहरण रहिआएकोमा प्रधानमन्त्रीले श्री रामबारे तथ्य हासिल गर्नका लागि रामायणले प्रतिनिधित्व गर्ने बृहद सांस्कृतिक भूगोल, रामायण र समृद्ध सभ्यतासँग जोडिएका विभिन्न स्थानबारे थप अध्ययन र अनुसन्धानको महत्वबारे प्रकाश पार्न खोज्नुभएको थियो । 

३ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मूल्य कम गर्न लागि यस्तो अभिव्यक्ती आएको थिएन । 

ध्यान दिन जरुरी छ कि नेपालमा हरेक वर्ष विवाह पञ्चमी मनाउने परम्परा छ,  जहाँ भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउँछन् । मेइ २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किट शुभारम्भ गरेका छन्, जसअन्तर्गत जनकपुर–अयोध्या यात्रुवहाक बस सेवा महत्वपूर्ण पक्ष हो । यी तथ्यहरुले हाम्रा दुई देश र जनताबीचको प्रगाढता दर्शाउँछ ।