उपचारको लागि सहयोगको याचना

-


     मर्दी न्युज    
     ३१ असार २०७७ मा प्रकाशित


पोखरा । ब्रेन ट्युमर भएकी १४ वर्षीया ममता गुरुङले उपचारका लागि सहयोगको आग्रह गरेकी छन । स्याङ्जा जिल्ला विरुवा गाउँपालिका वडा नं. २ घर भई सोही ठाउँको जामुने डाँडा माविमा कक्षा ८ मा अध्ययनरत ममताको उपचारमा आर्थिक अभाव भएपछि उनले सहयोगका लागि आग्रह गरेकी हुन ।

पोखराको फेवासिटी अस्पतालमा विगत चार महिनादेखि उपचाररत छिन् । उपचारमा रकम अभाव भएपछि उनको अप्रेसन हुन सकेको छैन । स्थानीय लालीगुराँस युवा क्लबले पनि आर्थिक सहयोगको लागि सहयोगी मनप्रति आग्रह गरेका छन् ।

कमजोर आर्थिक अवस्था भएका ममताको उपचारमा करिब १० लाख खर्च भइसकेको आमा मञ्जु गुरुङले बताइन् । ‘१० लाख खर्च भइसकेको छ, आफन्तबाट ऋण गरेको पनि सकियो’, आमा मञ्जुले भनिन्, ‘घर जग्गा बेचौं भने पनि बिक्री हुँदैन ।’ ममताको उपचार पोखरास्थित फेवासिटी अस्पतालमा भइरहेको छ ।

आर्थिक अभावले परिवारमा निराश छाएता पनि १४ वर्षीया पीडित ममताले उपचार भएमा बाँचेर केही गर्ने इच्छा रहेको बताउँदै भनिन्, ‘उपचार गर्नको लागि आर्थिक सहयोगको लागि सहयोगीहरुप्रति हार्दिक आग्रह गर्दछु । उपचार खर्च सहयोग गर्नुस् म बाँचेर तिर्नेछु ।’

उनको अप्रेसन गर्न १० लाखभन्दा बढी खर्च हुने चिकित्सकको भनाइ छ । हाल उनको सघन कक्षमा उपचार भइरहेको छ । सहयोग गर्न चाहनेले मुक्तिनाथ विकास बैंकको पृथ्वीचोकस्थित शाखाको ओममाया गुरुङको नाममा रहेको खाता नम्बर ००४२१६००४४३९५१०००००१ मा रकम जम्मा गर्न सक्नेछन । सहयोग गर्न चाहानेले खेम गुरुङलाई ९८५६०११७५२ मा पनि सम्पर्क गर्न सक्नेछन् ।

मर्दीन्यूज डट कमबाट पाँच हजार रुपैयाँ सहयोग
आर्थिक अवस्था कमजोर भएकी ममता गुरुङको उपचारको लागि मर्दीन्यूज डट कमको तर्फबाट ५ हजार सहयोग प्रदान गरिएको छ । मर्दीन्यूजका बजार व्यवस्थापक खेमबहादुर गुरुङमार्फत उनको परिवारलाई आज उक्त रकम प्रदान गरेको हो ।