एजेन्सी । बिटक्वाइन काण्डकै जस्तो एउटा अर्को साइबर हमला भएको छ । अहिलेसम्मकै ठूलो भनिएको यो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक भएका छन्।
यो हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्यापर कानिय वेस्ट लगायतका रहेका छन्।
उबर र एपलजस्ता संस्थाहरू समेत यो हमलाको शिकार भएका छन्। हमलाकारीले निशानामा पारेर दुरूपयोग गरेका यी सबै ट्विटर खातालाई दशौँलाखले पछ्याएका छन्।
ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।
‘मलाई सबैले अरूलाई दिन आग्रह गर्ने गरेका छन्, र अहिले त्यो समय आएको छ,’ बिल गेट्सको ट्विटर खातामा राखिएको झुटा ट्वीटमा लेखिएको थियो, ‘१,००० डलर पठाउनुस्, म तपाईँलाई २,००० डलर पठाउँछु।’
सो बिटक्वाइन खातामा अहिलेसम्म १ लाख डलर जम्मा भएको बताइएको छ। टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्विटरमा आउँदा केही घन्टामा दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने सबै बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो।
‘कोभिड–१९ का कारण म उदार भइरहेको छु,’ बिटक्वाइनको ठेगाना राखिएको लिङ्कसहित उक्त ट्विटमा थप लेखिएको थियो। ती ट्विटहरू पोष्ट भएको केहीबेरमा हटाइएका थिए।
निलो टिकमार्क सहितका ती सबै प्रमाणित ट्विटर खाताहरूलाई अहिले थप ट्विट गर्नबाट रोकिएको छ। विवरणहरूका अनुसार तिनमा यतिखेर पासवर्ड फेर्ने अनुरोधले समेत काम गरिरहेको छैन। बीबीसीका साइबर सुरक्षा संवाददाता जोन टिडीको भनाइमा ‘बिटक्वाइन दोबर पार्नेु काण्ड ट्विटरमा वर्षौँदेखिको रोग हो।’
उनी भन्छन् ‘तर ठूलो सङ्ख्यामा सार्वजनिक व्यक्तिका खाता ह्याक गरिएको यो घटना अनपेक्षित हो।’ यसले ट्विटरकै समस्या समेत देखाएको बताइएको छ। ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनालाई उक्त सोसल मिडिया कम्पनीले अनुसन्धान गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।