पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध

-


     मर्दी न्युज    
     ३ साउन २०७७ मा प्रकाशित


बुटवल ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खसेर सडक पुनः अवरुद्ध भएको छ ।

पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फसेकै अवस्थामा शुक्रबार राति पुनः पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिए ।

पहिरोले सडकमा रोकिएको ट्रक पुरिँदा मानवीय क्षति भए–नभएको यकिन नभएको जनाएको छ । दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ ।

पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट जेसीबी ल्याएर काम गर्ने तयारी भइरहेकाे प्रहरीले जानकारी दिए ।