यात्रा संस्मरण

यात्राः चन्द्रकोटको प्यास

-


     मर्दी न्युज    
     ४ साउन २०७७ मा प्रकाशित


mardi news

फाइल तस्विरः चन्द्रकोट गाउँ

गत सोमवार मिलेनियम पदमार्गमा जाने योजना बन्यो । योजना बन्नुमा थियो गण्डकी प्रदेश सरकारद्वारा विनियोजित रकमबाट निर्माण भइसकेका पूर्वाधार विकासका कामको रकम हस्तान्तरण गर्न । गत डिसेम्बर अन्त्यतिरदेखि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण जारी ‘लकडाउन’ले अजित भएको बेला घुमेर आउने सोँचका साथ यात्रामा निस्किएँ ।

यात्रामा थिए मिलेनियम पदमार्ग व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ, सदस्यद्वय बालकुमार गुरुङ र खड्गविक्रम खाँड अनि हामी समितिभन्दा बाहिराका ४ जनासहित ७ जना जाने तय भयो । अघिल्लो दिनदेखि देशैभरि भइरहेको मनसुनी भारी वर्षाका कारण जताततै खोलानाला बढेको थियो । तैपनि स्कोरपियो गाडी लिएर हामी तनहुँको शुक्लागण्डकीस्थित मान्द्रेमा पुग्यौं, त्यहाँ व्यवस्थापन समितिका खड्गविक्रम खाँडलाई लिन । त्यहीँबाट तनहुँ शुक्लागण्डकी १० स्थित रजस्थल भई शुक्लागण्डकीकै ११ राइपुर हुँदै स्याङ्जाको कोल्मा, चिरुवा र भैंसेगौंडा हुँदै मनकामना जाने हाम्रो रुट थियो ।

तर वर्षाका कारण त्यहाँबाट हामी अगाडि बढ्न सकने र यात्रा पुनः पोखरा फर्की स्याङ्जा मनकामना जाने उद्देश्यले फर्कियौं । बाटोमा पदमार्गका विभिन्न गाउँमा फोन सम्पर्क गर्दै जाँदा केही ठाउँमा अबरुद्ध भएको खबरहरु पनि प्राप्त नभएका होइनन् । तर त्यसदिन स्याङ्जाको मनकामनासम्म पुगेर फर्किने अनि जिल्लाकै पुतलीबजार नगरपालिका १२ स्थित चन्द्रकोट गाउँको घरबासमा गई बस्ने योजना थियो ।

भारी वर्षाका कारण हामी स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट गहते मनकामनाको लागि अगाडि बढ्न नसक्ने भयो । कारण थियो वर्षात्ले ठाउँ ठाउँमा खसेको पहिरोका कारण सडक बाटो अवरुद्ध थियो । त्यसपछि सम्बन्धित योजना सम्पन्न भएका ठाउँका सम्बन्धित गाउँकाहरुलाई सम्पर्क गरी स्याङ्जा बजारमा नै अधिकांशलाई रकम हस्तान्तरण गरियो ।

यसैगरी योजना सम्पन्न भएका गाउँकामध्ये हामी पुग्ने भनेर योजना बनाएको चन्द्रकोट गाउँका तीन जना पनि संयोगवश त्यही भेट भयो । गाउँमा जाने मोटरबाटो अबरुद्ध छ भन्ने थाहा पाएर पनि चन्द्रकोट आमा समूहकी अध्यक्ष टलकुमारी गुरुङ र अर्की सदस्य लिला गुरुङको आग्रहलाई मान्दै गाडी बजारमै छाडेर हामी हिंड्न तयार भयो । त्यतिबेला साँझको ४ बजिसकेको थियो ।

हामी स्याङ्जाबजार देखि ५ किमी अगाडि राङखोलाको कान्छीबजारमा पुग्यौं । हामीले लगेको स्कोरपियो गाडीलाई त्यहीँ राखेर हामी सवा चार बजेतिर आरुपाटा हुँदै उकालो लाग्यो । ठाडो भिरालो पाखामा मोटर बाटो हुँदै हामी उक्लिँदै गयो । गुरुङ बस्ती भएको लुम्दीमा पुग्न तीन घण्टा लाग्यो । त्यहाँसम्म बाटो ठीकै थियो । लुम्दीबाट चन्द्रकोटसम्म पुग्न भने विभिन्न ठाउँमा खसेको पहिरो, सिमसिम पानी पर्दै गरेको अवस्थामा भने जुकाले गर्दा सास्ती खेप्नु प¥यो । पाइलैपिच्छे १५÷२० वटा जुका जुत्तैभरि । साँझ परेको अवस्था अनि अँध्यारो जंगलको बीचमा पाइला अघि बढ्न नसक्दा जुकाले भने निकै मौका पायो । उचाइका दृष्टिले चन्द्रकोट १ हजार ५ सय मिटरको हाराहारी मात्र हो । करिब आठ सय मिटर उचाइबाट सुरु भएको हाम्रो यात्राले उचाइ भने खासै समातेको थिएन । पसिनाले ज्यान भिज्थ्यो । हामीले लौरो पनि आरुपाटाबाटै मात्र बोक्न सुरु ग¥यौँ ।

करिब आठबजे हामी कोइफेराको मन्दिरमा पुगेर आनन्दको सास फे¥यौं । चिसो सिरेठो, जहिले गएपनि उत्तिकै स्वागत र सम्मान अनि आत्मियता । बाटाभरिको उकालो चढ्न नसकेको दुःख र पसिनाले भिजेको कपडा त्यहाँको सत्कारमा बसेपछि सबै बिर्सियो । सवा आठ बजे चन्द्रकोट पुगेका हामीहरु थाकेर सोचेका थियौँ, सीधै बेडमा गएर ढलौँला । तर, त्यहाँ हामी पुग्नुभन्दा पहिल्यै गाउँलेहरुको भेला भएर बसिसकेको रहेछ । त्यहाँ बनेको सामुदायिक घरमा पुग्दा त गाउँलेहरु माला लिएर कुरिरहेका रहेछन् । त्यहाँ हामीले खशीको मासुसँगै केहीले लोकल रक्सीको स्वाद लिँदै बसियो । गाउँदै नाच्दै र गफ गर्दै जाँदा खाना खाई सुत्ने तरखर गर्दा रातको १२ बजिसकेको थियो ।

नेपालमा भदौको अन्त्यतिरबाटै पदयात्रा सुरु हुन्छ र असोज–कात्तिकमा त्यसले गति लिन्छ । तर मिलेनियम पदमार्ग बाह्रैमास हिंड्न सकिने पदमार्ग हुन् । यसो भनिरहँदा गत सोमवार मिलेनियम पदमार्गका केही घरवास भएको गाउँमा जानुपर्दा भने निक्कै सास्ती खेप्नु पर्यो । हामी गएको बाटो भने पदमार्ग अन्तर्गतको बाटो भने होइन । यतिखेर देशैभरि भइरहेको मनसुनी भारी वर्षका कारण गाउँमा मोटर बाटो पुर्याउन जताततै कोपारेको डोजरले गर्दा खसेको ढिस्को तथा पहिरोले चन्द्रकोट गाउँमा पुग्नै समस्या पारेको छ ।

दिगो पर्यटन विकासको उद्देश्य बोकेर सन् २००० सालमा स्थापित सहस्राब्दी पदमार्ग अर्थात् मिलेनियम पदमार्ग (मिलेनियम ट्रेक) देशमा चर्किएको द्वन्द्वले केही समय शिथिल बनेपछि केही वर्षअघिदेखि यस भेगमा पर्यटनका बलिया पूर्वाधार निर्माणका निम्ति व्यवस्थापन समिति लागि परिरहेका छन् । मध्य पहाडी क्षेत्रको पदमार्ग भएकाले जुनसुकै उमेर समूहले पनि यस पदमार्गमा यात्रा गर्न सकिन्छ ।

चन्द्रकोट गाउँ बिशुद्ध गुरुङ गाउँ हो । यहाँ घरबास कार्यक्रम सञ्चालन भइसकेको छ । मानिसले भन्दै आएको स्वर्ग त्यहीँ हो, जहाँ आनन्द मिल्छ । तिमध्ये प्राकृतिक सुन्दर, शान्त र शितल भूमि । प्रकृतिप्रेमी र पदयात्री पर्यटकहरुका लागि शान्त र शीतल खोज्नेहरुका लागि धर्तीकै भूस्वर्ग जस्तो ऐतिहासिक ठाउँ तथा धार्मिक ठाउँ पनि हो चन्द्रकोट । भुरेटाकुरे राज्यका भग्नावशेष भएको ठाउँ पनि हो चन्द्रकोट । सतौं राजाको समर प्यालेस भन्दा फरक नपर्ला त्यस ठाउँलाई ।

अर्को दिन बिहानै कोदोबाट बनेको अर्गानिक रोटी तथा परिकार खाएर हामी पोखरा फर्किने तरखर ग¥यौं । अघिल्लो दिन हिंडेको बाटोभन्दा अर्को बाटो जाने निधो गरेँ । चन्द्रकोटबाट अर्को गाउँ हालहले हुँदै राङखोला झर्ने बाटो समात्यौं । झन् त्यो बाटोमा धेरै पहिरो खसेको रहेछ । पहिरोको दलदलमा फस्दै करिब ३ घण्टामा हामी बल्ला राङखोला आइपुग्यौं र पोखरा फर्कियो । त्यस पहिरोको दलदलमा महासचिव हर्क गुरुङले जुत्ता नै छाड्नु पर्यो ।

यसपटक भने मनसुनी झरीले गर्दा कुहिरोले ढाकिएको थियो चन्द्रकोट गाउँ । नत्र चन्द्रकोटबाट चारैतिर देखिने सुन्दर दृश्यसामु क्यामेराको लेन्स पनि लाचार हुन्छ । यसभन्दा अघि पनि पटक पटक गइरहेकाले मन त्यतिकै फुरुङ्ग हुन्छ चन्द्रकोट गाउँ पुग्दा । अनि मनले भन्छ, मनमा हुने स्मृतिहरूको पनि मूल्य हुन्छ, सबै कुराको सम्झना कहाँ वस्तुमा हुन्छ र ? त्यहाँबाट उचाइलाई ह्वात्तै घटाएर मंगलवार बिहान राङखोला हुँदै पोखरा फर्किएका हामीलाई भने त्यो दुई दिने यात्राका स्मृतिले भने अझै छाड्न सकेको छैन ।