पोखरा, ४ साउन । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालय आज आइतबार बिहान ११ बजे जारी गरेको विज्ञप्ति अनुसार थपिएका संक्रमितहरु पोखरा महानगरपालिकाका ६ र लमजुङ जिल्लाका ६ जना गरी १२ जना रहेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ६ जना र लमजुङ जिल्लाको बेसीशहर नगरपालिकाका १, राइनास नगरपालिकाका १, मध्यविन्दु नगरपालिकाका २, दुधपोखरी गाउँपालिकाका १ र सुन्दरबजार नगरपालिकाका १ जना गरी लमजुङका ६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ । संक्रमित व्यक्तिहरु सबैलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यसअघि आजै प्रदेश निर्देशनालयले १०ः३० बजे जारी गरेको विज्ञप्तिअनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको थियो ।
यसैगरि गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ३८ पुगेको छ ।