
पोखरा, ५ साउन । गण्डकी प्रदेशको गोरखा जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय २० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकाका १/१ जना गरी ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमितहरु २८, २५ र २९ वर्षका पुरुषहरु रहेका छन् ।
यसैगरी आजै म्याग्दी जिल्लाको आईसोलेशनमा रहेका १४ जना पुरूष कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । जिल्लामा रहेका आइसोलनमा ४० जना संक्रमित रहेकोमा अब ६ जना पुरूष मात्र बाकी रहेको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना निको भई घर फर्किनेको संख्या १ हजार १८ जना रहेको निर्देशनालयले जनाएको छ ।