
फोटो साभारः लोजिक कृष्ण सागर
रमेश चौधरी, चितवन ।
नेपालमा अति दुर्लभ मानिएको खर बट्टाई चितवन जिल्लाको कुमरोज मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा फेला परेको छ । नेपाल वाईल्डलाईफ फोटोग्राफर्स क्लब र बर्ड एजुकेशन सोसाइटीका सक्रिय सदस्यहरु लोजिक कृष्ण सागर, राधा कृष्ण श्रेष्ठ, चुडामणि चौधरी, राजु तामाङ्ग र मिलन तामाङ्गले चराचुरुंगी र वन्यजन्तुको अध्ययन अनुसन्धान र फोटो खिच्ने क्रममा मिति २०७७ साल श्रावण महिनाको १ गते तदानुसार अंग्रेजी महिनाको जुलाई १६ तारिख २०२० मा फेला परेका हुन।
खर बट्टाईको अंग्रेजी नाम एसियन ब्लु क्वाइल हो भने बैज्ञानिक नाम सैनोइकस चैनेंसिस हो। यसलाई किङ्ग क्वाइल, ब्लु ब्रेस्तेड क्वाइल र ब्लु क्वाइलको नामले पनि चिनिन्छ । विश्वमा १५ प्रजातिका बट्टाई पाईएतापनि नेपालमा केवल ४ प्रजातिका बट्टाई पाईन्छ । जस मध्ये बट्टाई (कमन क्वाइल),छनक बट्टाई(रेन क्वाइल),खर बट्टाई(एसियन ब्लु क्वाइल) र गैरीकलाव बट्टाई (जंगल बुस क्वाइल)हुन्। यी मध्ये गैरीकलाव बट्टाई नेपालबाट लोप भैसकेको विश्वाश गरिन्छ।

वासस्थान र आहार विहारः
खर बट्टाई सिमसार क्षेत्रको आसपास,अग्लो घाँसे मैदान,खेतबारीको छेउकुना र घना घाँसे मैदानमा बसोवास गर्ने पन्छी हो। यो पन्छी समुन्द्री सतहको ७५ मिटर देखि १३५० मिटर सम्मको उचाईमा पाईएका तथ्यहरु छन्। खर बट्टाई घाँस र कोदोका दानाको साथसाथै स-साना कमिलाहरु पनि खाने गर्दछ।
नेपाल बाहेक अन्यत्र पाईने स्थानहरुः
खर बट्टाई नेपाल बाहेक एसिया र अफ्रीका अन्य थुप्रै देशहरुमा पाईन्छ, जस्तैः अंगोला, अस्ट्रेलिया, ब्रुनाई, बुरुण्डी, कम्बोडिया, क्यामरुन, भारत, केन्या, नाइजेरिया, दक्षिण अफ्रीका, थाईल्याण्ड इत्यादी।
खर बट्टाई नेपालमा कहाँ र कहिले देखिएका होः
नेपालमा पहिलोपटक बेलायती प्रकृतिविद सर ब्रायन हड्सन १९ औं सताव्दीमा काठमाडौँमा फेला पारी संकलन गरेका थिए । त्यसपछि, बैले भन्ने व्यक्तिले सन् १९३६, १९३७ र १९३८ मा क्रमशः मोरंग जिल्लाको हरैंचा, कंचनपुर जिल्लाको बेलौरी र सुनसरी जिल्लाको कोशी भन्ने ठाउंहरुमा फेला परेका तथ्यहरु छन्। फ्लेमिंङ्ग र टेलरले सन् १९६३ मा काठमाडौँ मा देखेका थिए । सन् १९९० भन्दा पहिले चितवनमा केवल तीन पटक देखिएको थियोः उडकक (१९७९), इन्स्किप र इन्स्किप (१९८०) र मेल्स्त्रूप र ओल्सेन (१९८७)। सन् १९९० पछि नेपालमा चार पटक मात्र देखिएको छः चितवनमा सन् २००१ (माल्लिंग ओल्सेन २००४), कोशीमा २००२ (जी सी सोम र बराल एच २००२), नागर्जुन र शिवपुरीमा सन् २००८ मा (ठकुरी र थापा २००९) र कोशी बर्ड अब्जर्भेटरीमा सन् २०१२ मा (इनिस्किप र इनिस्किप २०१२)। चितवनमा १९ वर्ष पछि पाँचौ पटक फेला परेको छ (एन डब्लु पी सी र बर्ड एडुकेशन सोसाइटी २०२०)।
नेपालमा खर बट्टाईको अवस्थाः
अन्तराष्ट्रिय प्रकृति संरक्षण संस्था (आइयुसीएन) ले खर बट्टाईलाई विश्वमा सामान्य अवस्थामा रहेको भनेतापनि नेपालमा अति दुर्लभ मानिन्छ । नेपालमा यसलाई संकटापन्न अवस्थामा रहेको घोषणा गरी संरक्षण गर्नु पर्छ भन्नेमा धेरै पन्छीविद हरुको भनाइ छ ।
नेपालमा खर बट्टाईको अध्ययन र अनुसन्धानः
नेपालमा हालसम्म खर बट्टाईको वैज्ञानिक अध्ययन र अनुसन्धान गर्ने काम गरिएको छैन । तसर्थ, वातावरण विज्ञान र जीव विज्ञानमा अध्ययन अनुसन्धान गर्ने सोधकर्ताहरुका लागि खर बट्टाई संम्बन्धी अध्ययन गर्ने राम्रो अवसर हो।
खर बट्टाईका लागि खताराहरुः
वासस्थानको विनाश र चोरीशिकारी नै खर बट्टाई लोप हुनाका प्रमुख कारणहरु हुन् । यदि खर बट्टाईलाई संरक्षण गर्नु छ भने नेपाल सरकारले खर बट्टाईको वासस्थानको संरक्षण गरी चोरीशिकारी रोक्न उचित कदमहरु शिघ्रै चाल्नु पर्ने देखिन्छ ।
लेखक पंक्षीबिद, नेपाल पंंक्षी संरक्षण संघ काठमाण्डौंका कार्यकारिणी सदस्य तथा बर्ड एजुकेशन सोसाईटी चितवनका संस्थापक सचिव हुन् । इमेल : [email protected]
