
सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेष्टुरेण्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेण्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमाति छ । यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
‘हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो’ उनले भने ।
यस्तै भदौ १ देखि यात्रुबाहक सवारीसाधनहरु लामो तथा छोटो दूरीमा र अन्तरजिल्ला तहमा सञ्चालन गर्न पाइने निर्णय भएको उनले बताए । यसैगरी भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यसैगरी भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।