कोरोना संक्रमणबाट थप दुईको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्यो

-


     मर्दी न्युज    
     श्रावण ७ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, ७ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बुधवार थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधवार थप दुई जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको हो ।

महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा ४९ वर्षीया एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

४९ वर्षीया चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । पोखरामा कार्यरत उनी स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । मणिपाल शिक्षण अस्पतालले रेफर गरेपछि उनलाई साउन २ गते हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल पुर्याइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए

मुटुको बिरामी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरेको थियो ।


आईसीयूमा राखेर उपचार गर्ने क्रममा उनको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।