पोखरा, ७ साउन । पोखराको फेवासिटी अस्पतालमा विगत चार महिनादेखि उपचाररत ममता गुरुङको रकम अभाव भएपछि अप्रेसन हुन नसकेको समाचार प्रकाशित भएपछि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । ब्रेन ट्युमर’ रोगका कारण पोखराको फेवासिटी अस्पतालमा विगत चार महिनोदेखि उपचाररत बालिकाको उपचारको लागि सहयोग जुट्न थालेको हो ।
स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. २ घर भएकी १४ वर्षीया बालिका ममताको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च जुटाउन नसकेर आर्थिक सहयोग गर्न आग्रह गर्दै मर्दीन्यूज डट कममा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि ममता गुरुङको अपरेशन गर्न स्वदेश तथा विदेशमा रहेका आफन्तजन, शुभचिन्तकले आर्थिक सहयोग गर्न थालेको हो । जसअनुसार आज बुधवारसम्म ५ लाख २० हजार भन्दा बढी संकलन भइसकेको छ भने उक्त रकम ममताकी दिदी ओममाया गुरुङलाई हस्तान्तरण गरिसकेको छ ।
ममताको परिवारको मुख्य आम्दानीको स्रोत कृषिमात्रै हो । ‘थोरै खेतबारी भएको उनको परिवारको कृषिबाट वर्षभरिको उत्पादनले खान लाउन पनि धौधौ हुन्छ,’ ममताका मामा खेमबहादुर गुरुङले भने, ‘त्यसमाथि गरीखाने समयमा छोरी यसरी थला परेपछि हातमुख जोड्न जोहो गर्न मेलापात जाने कि उपचार खर्च जुटाउनु भन्नेमा भएको छ ।’
भाञ्जीको उपचारको लागि कतैबाट सहयोग जुटाइदिन पनि उनले आग्रह गरे । त्यसैगरी ममताको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले पनि देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ ।
पोखराको फेवासिटी अस्पतालमा विगत चार महिनादेखि उपचाररत ममताको रकम अभाव भएपछि अप्रेसन हुन सकेको छैन । फेवासिटी अस्पतालको सघन कक्षमा उपचाररत उनको उपचारमा १० लाखभन्दा बढी खर्च भइसकेको छ । उनको अप्रेसन गर्न १० लाखभन्दा बढी खर्च हुने चिकित्सकको भनाइ छ ।
ममतालाई सहयोग गर्न चाहनेले ममताका मामा खेमबहादुर गुरुङको मो. ९८५६०११७५२, ९८४६०४१७५२ मा सम्पर्क गर्न सकिने छ । त्यस्तै मुक्तिनाथ विकास बैंकको पृथ्वीचोकस्थित शाखाको ओममाया गुरुङको नाममा रहेको खाता नम्बर ००४२१६००४४३९५१०००००१ मा रकम जम्मा गर्न सक्नेछन ।