अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारी परिचालन गर्दै ट्रम्प

-


     मर्दी न्युज    
     ८ साउन २०७७ मा प्रकाशित


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारीहरूलाई पठाउन लागेका छन । अमेरिकाका विभिन्न सहरमा हिंसा भड्किरहेका बेला रिपब्लिकन तर्फबाट राष्ट्रपति बनेका ट्रम्पले शिकागो र अन्य दुई डेमोक्र्याटिक पार्टीका नेताहरूले चलाएका सहरमा संघीय सुरक्षा अधिकारीहरू पठाउन लागेको बीबीसीले उल्लेख गरेको छ ।

तर यसअघि पोर्टल्याण्ड ओरेगनमा गरिएको संघीय सुरक्षा अधिकारीको परिचालन विवादास्पद बनेको थियो । पोर्टल्याण्डका स्थानीय अधिकारीहरूले संघीय सुरक्षा अधिकारी परिचालन गरिएपछि त्यसले जातिवाद विरोधी प्रदर्शनका माझ तनाव निम्त्याएको बताएका छन ।

चुनावी अभियानको एउटा हिस्सा
आलोचकहरूले भने ट्रम्पको यस्तो कदम पुनः निर्वाचित हुनका लागि चुनावी अभियानको एउटा हिस्सा भएको बताएका छन । अमेरिकाका महान्यायाधिवक्ता जेनेरल विलियम बारले मिजुरीको क्यान्जस सीटीमा करिब २ सय सुरक्षा अधिकारीहरू पठाइएको बताएका छन ।

बीबीसीका अनुसार बुधवार सङ्घीय सुरक्षा अधिकारी पठाएको विषयमा ट्रम्पले घोषणा गर्दा महान्यायाधिवक्ता बार पनि सँगै थिए । बारले क्यान्जस सिटीमा पठाएकै सङ्ख्यामा सुरक्षा अधिकारीहरूलाई शिकागो र करिब ३५ जनालाई न्यू मेक्सिको पठाइने बताए ।

गत मे महिनामा एकजना निहत्था अश्वेत पुरुष जोर्ज फ्लोइडको प्रहरी हिरासतका क्रममा मिनेसोटा राज्यमा मृत्यु भएपछि त्यसयता अमेरिकाका थुप्रै सहरहरूमा प्रदर्शनहरू हुँदै आएका छन । यसैबीच, न्यूयोर्क, फिलडेल्फिया, लस एन्जलस, सिकागो र मिलवाकीमा बन्दुकजन्य हिंसाका घटना बढेका छन ।

मङ्गलवार राती, सङ्घीय अधिकारीहरूले लगातार ५४ रातदेखि प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा प्रदर्शनकारीमाथि अश्रुग्यास र अन्य तितरबितर बनाउने सामग्रीहरू प्रयोग गरेका थिए ।

सङ्घीय अदालतबाहिर भेला भएका सयौंको सङ्ख्याका प्रदर्शनकारीहरूलाई तितर–बितर बनाउने प्रयासमा अधिकारीहरूले ती सामग्रीको प्रयोग गरेका थिए ।