आज बकर इद, सावधानीपूर्वक बकर ईद मनाउन राष्ट्रपतिको आग्रह

-


     मर्दी न्युज    
     श्रावण १७ गते २०७७ मा प्रकाशित


पोखरा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

यस अवसरमा राजधानीको जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यो पर्व मनाउन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

बकर–इदमा राष्ट्रपतिद्वारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–ईद ९इदुल जोहा० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न योगदान पुर्याएको उल्लेख गरेकी हुन् ।

सन्देशमा भनिएको छ, “भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानका जीवन्त सूचक हुन् । हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चीरकाल पर्यन्त अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गर्न सकौँ, बकर ईद पर्वको पावन अवसरमा यही मेरो सबैमा हार्दिक शुभकामना छ ।”