
पोखरा, १७ साउन । ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नारासहित विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ । यही साउन १७ देखि २३ गतेसम्म नेपालले विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाउने भएको हो ।
शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त १ तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । नेपाल लगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्ता सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् । सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाईने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।
उनीहरुका अनुसार शिशुलाई २ वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहन्छन् । नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ४५ प्रतिशतको हाराहारीमा मात्रै छ । यस्तै ७० प्रतिशत महिलाले ६ महिनासम्म पूर्ण स्तनपान गराउने गरेका छन् । शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको छिटो विकास हुने भ्रमले महिलाहरुले शिशुलाई स्तनपान नगराई वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढीरहेको चिकित्सकहरुको भनाई छ ।
विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाहरुले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ ।
स्वास्थ्य मन्त्रालयले सन् २०१७ मा गरेको अध्ययनमा छ महिनादेखि दुई वर्षसम्मका ८७ प्रतिशत बालबालिकाले ‘जंक फुड’को प्रयोग गर्ने गरेको देखाएको थियो । अध्ययनले बढीजसो शल्यक्रिया गरेर जन्मिएका बालबालिकालाई ‘फर्मुला’ दूध खुवाउने गरेको देखाएको छ ।