इङ्गल्यान्डमा लकडाउन खुकुलो पार्ने कार्य पछाडि सारियो

-


     मर्दी न्युज    
     श्रावण १७ गते २०७७ मा प्रकाशित


इङ्गल्यान्डमा कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएपछि यो सप्ताहन्तदेखि खुकुलो पारिने भनिएका क्षेत्रहरूमा लकडाउन कम्तीमा अर्को दुई हप्ताका लागि कायम राख्ने निर्णय गरिएको छ। प्रधानमन्त्री बोरिस जोनसनले अहिले ‘साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको’ भनेका छन्।

क्यासिनो र बावलिङ खेलस्थलहरू बन्द रहनेछन् । सिनेमाहलजस्ता स्थानमा मास्क अनिवार्य हुनेछ।

इङ्गल्यान्डका प्रमुख मेडिकल अफिशर प्राध्यापक क्रिश ह्वीटीले डाउनिङ स्ट्रीटमा प्रधानमन्त्रीसँगै उपस्थित भएर भने: “सबै क्षेत्र खुला गरेर पनि भाइरस नियन्त्रण हुन्छ भन्ने विचार गलत छ।”

प्रधानमन्त्रीले जोनसनले दैनिक र साप्ताहिक मृत्यु सङ्ख्या कम भएको औँल्याउँदै कोरोनाभाइरस नियन्त्रणमा भएको प्रगति निरन्तर रहने बताए । तर केही युरोपेली मुलुकहरू कोरोनाभाइरस नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको भन्दै जोनसनले त्यस्तो अवस्था आएमा ‘यूके तयार अवस्थामा रहनुपर्छ’ भने।

राष्ट्रिय तथ्याङ्क विभाग (ओएनस)ले शुक्रवार जारी गरेको तथ्याङ्क अनुसार एक हप्ता अगाडि प्रतिदिन ३,२०० जनामा सङ्क्रमण पुष्टि हुने गरेकोमा यो हप्ता प्रतिदिन करिब एक हजारले बढेर ४,२०० जति पुगेको छ।

प्रधानमन्त्री जोनसनले मानिसहरूलाई “नियम पालना गर्न, हात धुन मास्क लगाउन र भौतिक दूरि कायम राख्न र लक्षण देखा परेको भए परीक्षणमा जान आग्रह गरे।” उनले नारा पनि बनाए: “हात, अनुहार, दूरी र परीक्षण।”

यूकेमा अहिलेसम्म कोरोनाभाइरसका कारण ४६,११९ जनाले ज्यान गुमाइसकेका छन् । जोनसनले अगस्ट १ तारिखदेखि खोल्ने भनिएका क्षेत्रहरू कम्तीमा दुई हप्ता पछाडि सारिएको बताएका छन्।

अर्को सप्ताहन्तदेखि सङ्ग्रहालय र प्रार्थना गर्ने ठाउँहरूमा समेत मास्क अनिवार्य बनाइने भएको छ । अहिले पसल, ब्याङ्क, विमानस्थल र भवनभित्र रहेका यातायात कार्यालयमा मास्क अनिवार्य रहेको छ। – बीबीसी