भोलिदेखि डुङ्गा सञ्चालनमा ल्याइने, सञ्चालनपूर्व व्यवसायीहरुलाई स्वास्थ्यसम्बन्धी प्रशिक्षण

-


     मर्दी न्युज    
     श्रावण १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ साउन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द भएको फेवा डुङ्गा व्यवसाय भोलिदेखि सञ्चालनमा ल्याउने बताएका छन् ।

कोरोना संक्रमण रोक्न सरकारले जारी गरेको ४ महिने लामो बन्दाबन्दी खुलेसँगै भोलि आइतबारबाट सञ्चालनमा ल्याउने फेवा डुङ्गा व्यवसायी संगठनका उपाध्यक्ष मंगलबहादुर नेपालीले बताए ।

साउन १५ गतेबाट विशेष सुरक्षा सतर्कता अपनाएर होटल, रेस्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ्ग अफिस खोल्न पाउने सरकारी निर्णयसँगै पोखराका केही होटल तथा रेष्टुरेष्टहरु खुलेका छन् । पर्यटकीय नगरी पोखराका लेकसाइडमा होटल तथा रेष्टुरेण्ट खुलेसँगै डुङ्गा व्यवसायीहरुले पनि आफ्नो व्यवसाय सञ्चालनमा ल्याउन लागेको उनले बताए ।

कोरोना संक्रमणबाट जोगिदै आफ्नो व्यवसाय सञ्चालन गर्नको लागि सरकारले जारी गरेको मापदण्डअनुसार व्यवसाय सञ्चालनपूर्व व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षा, सचेतना तथा प्रशिक्षण कार्यक्रम आज शनिवार पोखराको पर्यटन बोर्डमा सम्पन्न गरेको छ । सरकारले तयार गरेको ‘हेल्थ प्रोटोकल’ तथा स्वास्थ्य सुरक्षा सम्बन्धी प्रशिक्षण ईन्टरनेशनल मेडिकेयर असिस्टेन्स सेन्टरका डा. मुकेश मल्लिकलगायतले प्रशिक्षण दिएका थिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोग र फेवा डुङ्गा व्यवसायी संगठनको व्यवस्थापनमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता बुद्धिबहादुर नेपालीले गरेका थिए । प्रशिक्षण कार्यक्रममा ५० जना व्यवसायी मात्र सहभागी भएको उपाध्यक्ष मंगलबहादुर नेपालीले बताए । फेवा डुङ्गा व्यवसाय संगठनमा ७ सय ६४ जना व्यवसायी आबद्ध छन् ।