
पोखरा, १८ साउन । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक आइतबार बिहान जारी गरेको विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पाँच जिल्लाका २० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा तनहुँका २, स्याङ्जाका ८, लमजुङका ३, बागलुङका १ र कास्कीका ६ जना रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका १ जना ६२ वर्षीय पुरुष छन् भने रुपा गाउँपालिकाका २३ र ३१ वर्षीया दुई महिलासहित २५, ३१, ३३ वर्षका ३ जना पुरुष गरी ६ जना रहेको प्रदेश निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
यसैगरी क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँको म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका १÷१ जना रहेका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३ जना र वालिङ नगरपालिकाका ५ जना गरी ८ जना रहेका छन् भने बागलुङ जिल्लाका बागलुङ नगरपालिकाका १ जना रहेका छन् । त्यस्तै लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकाका २ जना र दोर्दी गाउँपालिकाका १ जना गरी ३ जना रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १५०५ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
कोरोना निको भएर गण्डकी प्रदेशमा डिस्चार्ज हुनेको संख्या १२४५ पुगेको निर्देशनालयले जनाएको छ ।


