
पोखरा, १८ साउन । ‘ब्रेन ट्युमर’ बालिका ममता गुरुङको ‘उपचारको लागि सहयोगको याचना’ शीर्षकमा मर्दीन्यूज डट कममा समाचार प्रकाशित भएपछि आर्थिक सहयोग गर्नेहरु निरन्तर बढिरहेको छ । रकम अभाव भएपछि अप्रेसन हुन नसकेको र ‘उपचारको लागि आर्थिक सहयोग जुट्दै’लगायतका समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोग गर्ने क्रम बढेको हो ।
पेल्काचौर छिमेकी जिल्ला समाज बेलायतबाट संकलन गरिएको रु. ३ लाख २२ हजार रुपैयाँ आज आइतबार बिहान मर्दीन्यूज डटकमको तर्फबाट खेमगुरुङ र सहयोगीद्वय होमबहादुर गुरुङ र हरिबहादुर गुरुङले उक्त रकम ममता गुरुङलाई हस्तान्तरण गर्यो । हालसम्म ममता गुरुङको उपचारको लागि १५ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. २ घर भएकी १४ वर्षीया बालिका ममताको पोखराको एक निजी अस्पतालमा चार महिना लामो उपचार भएको थियो । उनको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च जुटाउन नसकेर आर्थिक सहयोग गर्न आग्रह गर्दै समाचार प्रकाशित भएपछि सहयोग जुटेको हो ।
चिकित्सकका अनुसार बालिकाको अन्य रोगका कारण तत्काल अपरेशन गर्न नमिल्ने भएपछि उनलाई पोखरामा कोठा खोजी राखिएको छ ।
यसअघि ममता गुरुङलाई संजिवनी दिदीबहिनी केन्द्र नेपालको तर्फबाट १० हजार हस्तान्तरण गरिसकेको छ । गतहप्ता केन्द्रका अध्यक्ष बिना गुरुङ लगायतका समितिका पदाधिकारीहरु सो रकम हस्तान्तरण गरेको थियो ।