
पोखरा, १८ साउन । पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आइतबारसम्म ५ हजार ३ सय ६२ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ९१ हजार २ सय ७० जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी आइतबारसम्म क्वारेन्टाइनमा १० हजार ९ सय ३४ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १११ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १४ हजार ६ सय ३ रहेको प्रवक्ता डा गौतमले बताए ।