सरकारले वीरगञ्जमा पठायो उच्चस्तरीय स्वास्थ्य टोली

-


     मर्दी न्युज    
     श्रावण १८ गते २०७७ मा प्रकाशित


सरकारले प्रदेश २ को वीरगन्ज र जनकपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उच्चस्तरीय स्वास्थ्य टोली त्यसतर्फ पठाएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगन्ज पुगेर विज्ञ समूहले समन्वयको काम सुरु गरिसकेको बताए । उनका अनुसार उक्त टोलीले नै प्रदेश २ मा सङ्क्रमित बढी भएको अन्य शहर तथा क्षेत्रमा आवश्यक समन्वय तथा निर्देशन र सहयोगको काम अगाडि बढाउनेछ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले स्वास्थ्य मन्त्रालयले कोरोना प्रभावित अन्य प्रदेशहरुमा पनि उच्च स्तरीय टोली पठाइने तयारी गरिरहेको जानकारी दिए । पछिल्लो समयमा प्रदेश २ को वीरगन्ज, प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा सङ्क्रमित हुनेको संख्या दैनिक रुपमा बढ्दो छ ।