आज जनैपूर्णिमा पर्व मनाइँदै

-


     मर्दी न्युज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


पोखरा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जुन कुराले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

जनै फेर्ने दिन

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्छन । यसका लागि हिजैदेखि कपालमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

यस्तो छ जनैको महत्व

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ । अतः जनै धारण गर्ने व्यक्तिका लागि अन्य व्यक्तिलाई जनैले धेरै कुराको जानकारी दिइरहेको हुन्छ ।

धार्मिक शास्त्रअनुसार मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ । शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन । यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी विन्दु, फोक्सोको बाहिरी विन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ ।

क्वाँटी खाने पर्व

आज ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी खाइन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

राखी बाँध्ने दिन

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

कहाँ कहाँ लाग्छ मेला?

काठमाडौंको पशुपतिनाथ, लमजुङको दूधपोखरी, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा आज मेला लाग्छ ।