मुख्यमन्त्री गुरुङद्वारा जनैपूर्णिमाको अवसरमा शुभकामना व्यक्त

-


     मर्दी न्युज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


पोखरा, १९ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङले एक सन्देश जारी गर्दै नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वहरुले सामाजिक एकता र भातृत्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने यस्ता मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव एवम् साँस्कृतिक सह–अस्तित्व अभिबृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुर्याउँदै आइरहेका छन्’, सन्देशमा भनिएको छ, ‘यस पर्वले गण्डकी प्रदेशमा रहेका सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव प्रगाढ बनाइ आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले समृद्ध प्रदेश निर्माण गर्न मद्दत पुग्ने विश्वास समेत लिएको छु ।’

मुख्यमन्त्री गुरुङले लकडाउन हटेपनि कोभिड–१९ को संक्रमण नहटेको हुँदा आवश्यक सुरक्षा र सजकता अपनाउन सबैलाई आग्रह गरिएको छ । यसैगरी बाढी तथा पहिरोका कारण विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भइरहेको उल्लेख गर्दै प्राकृतिक विपत्तिको जोखिम कायमै रहको यस अवस्थामा उद्दार राहत र उपचारमा सक्रिय भएर जुट्न र यस विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन समेत आग्रह गरिएको छ ।