राष्ट्रिय जनगणनामा रामादीका तमुले ‘बोन’ र ‘तमु’ लेख्ने

-


     मर्दी न्युज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


साउन १९, पोखरा । राष्ट्रिय जनगणना २०७८ मा गुरुङ (तमु)हरुले धर्मको महलमा बोन धर्म र भाषाको महलमा तमु लेख्ने निर्णय गरेको छ । कास्कीको रुपा गाउँपालिका ५ स्थित तमु प्ये ल्हु संघ इकाई समिति रामादीको आयोजनामा आइतबार सम्पन्न तमुको प्ये ताँ ल्हु ताँसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त निर्णय गरेको हो ।

अन्तरक्रिया कार्यक्रमले ९ वटा बुँदा पारित पार्दै सम्पन्न गरेको छ । जसमा, १) तमुको मौलिक धर्म प्राकृतिक ‘बोन’ धर्म, २) तमुको मातृभाषा ‘तमु’, ३) तमुको धार्मिक ग्रन्थ ‘तमु प्ये ताँ ल्हु ताँ’, ४) तमुको खेगी गुरुहरुमा ‘पच्यु, क्ल्हेप्री र बोन लम’, ५) तमुको आस्थाको धरोहर केन्द्रविन्दु ‘क्होइबो’, ६) तमु प्ये छ्यामा एकरुपता गर्ने, ७) तमुको गोत्रा छाडी ‘न्हेजा’ लाई अगाडि बढाउने, ८) तमुको प्ये (शास्त्र)को अध्ययन अनुसन्धान गर्ने, र ९) राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा ‘बोन’ र भाषाको महलमा ‘तमु’ लेखाउने निर्णय गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य दिंदै तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुले आप्mनो जातिको पहिचान र अस्तित्वसँग जोडिएको प्ये ताँ ल्हु ताँलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए । उनले आगामी वर्षको लागि आउने तथ्याङ्क संकलनमा चनाखो भई आप्mनो वास्तविक मौलिक धर्म, भाषा लेखाउन आजैदेखि अभियानको रुपमा लाग्न इकाई समितिलाई निर्देशन दिए ।

तमु प्ये ल्हु संघ यूकेका सल्लाहकार मनबहादुर म्रु तमुको विशेष पहलमा भएको कार्यक्रममा संघका केन्द्रीय पच्यु समितिका अध्यक्ष कुलप्रसाद क्रोम्छें तमु र केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष लोकबहादुर टु क्ल्हेप्री तमुसँग इकाईले तमु जातिको भाषा, धर्म, संस्कार, संस्कृति आदि विषयमा अन्तरक्रिया गरेको थियो ।

सोही कार्यक्रममा संघद्वारा वितरित होमियोप्याथिक औषधी आर्सनिक एल्बम ३० संघका केन्द्रीय महासचिव हर्क योज तमुले वितरण गरेका थिए । रामादी इकाई समितिका अध्यक्ष इन्द्रबहादुर क्होला तमुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।