
कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले लकडाउन गर्न सुझाव दिएका छन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा साढे चारघण्टा लामो भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरुको छलफलमा यस्तो सुझाव आएको छ ।
विपक्षी दलका नेताहरुसहित जनस्वास्थ्य विज्ञहरुसँगको परामर्श बैठकमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन’ उनले भने ।
वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका हुन ।
छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी थिए ।