प्रतितोला सुनको मूल्य १ लाख नाघ्यो

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित


काठमाडौँ — कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बुधबार अप्रत्याशित रुपमा बढेको छ ।

मंगलबार प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको पहेंलो धातुमा बुधबार एक हजार ६ सयले वृद्धि भएको हो ।

बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख ९०० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ । एक तोला सेतो धातुको मूल्य बुधबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

कोभिड–१९ को संक्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ ।त्यसैगरी प्रतिऔँस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।