नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २१ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधवार थप दुई जनाको कोरोनाका कारण मृत्यु भएसँगै मृतकको संख्या ६० पुगेको हो ।

पर्सा जिल्लाको पोखरिया नगरपालिका ८ घर भएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणका कारण मंगलवार राती मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो ।


त्यसैगरी पर्सा जिल्लाकै वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आज बुधबार बिहान मृत्यु भएको हो ।



Tags: