
फाइल तस्विर
पोखरा, २२ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधवार मोरङ, पर्सा, सर्लाही, धनुषा, सप्तरी जिल्लामा मृतक थपिएसँगै मृतकको संख्या ६५ पुगेको हो ।
मोरङ जिल्ला रङ्गेली नगरपालिका ८ दर्वेशा बस्ने ४५ वर्षीय पुरुष रहेका छन् । उनलाई साउन २१ गते ज्वरो तथा स्वासप्रश्वासमा समस्या भइ कोशी अस्पताल ल्याउँदा मृत्यु भएको थियो । त्यसैगरी मोरङकै विराटनगर महानगरपालिका ९ बस्ने ४५ वर्षीय एक पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको हो । उनी मिर्गौला तथा मधुमेहका दीर्घरोगी रहेका थिए ।
त्यसैगरी सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ बस्ने ६५ वर्षीया महिलाको साउन २१ गते मृत्यु भएको हो । उनको उपचारको क्रममा सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको पनि जाँच गर्दा कोरोना पुष्टि भएको छ । उनी दम तथा मधुमेहको बिरामी थिइन् ।
त्यस्तै सप्तरी जिल्ला रुपनी नगरपालिका ५ बस्ने ४२ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको छ । ज्वरो तथा स्वासप्रश्वासमा कठिनाइ भइ साउन २० गते उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना भएका थिए । थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।