
पोखरा, २३ साउन । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९० लाख पुग्न लागेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शुक्रवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ९६ हजार ८ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ४८ लाख ७७ हजार ११५ पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या २९ लाख १२ हजार २१२ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा १९ लाख ६४ हजार ५३६ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख १२ हजार ४७६ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ५९ हजार ९९० जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ९८ हजार ४९३ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोनाको उपचार भई घर फर्किनेको संख्या १ करोड १४ लाख ७८ हजार ८३५ जना रहेको छ ।