नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २३ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीवार पर्सा, सिराह जिल्लाका मृतक थपिएसँगै मृतकको संख्या ७० पुगेको हो ।

मन्त्रालयका अनुसार अहिले पुष्टि भएका मृतकमध्ये तीन जना पर्सा जिल्लाका र दुई जना सिरहा जिल्लाका हुन । तीमध्ये दुई जनाको पाटनमा मृत्यु भएको हो ।

वीरगन्ज माईस्थानका ४५ वर्षीय व्यक्तिको साउन २२ गते पाटन स्वास्थ्य विज्ञान अस्पतालमा मृत्यु भएको हो । उनलाई मधुमेह र उच्च रक्तचाप भएको र श्वासप्रश्वासमा समस्या भई स्टार अस्पतालमा उपचार गराइरहेकोमा साउन १७ गते उनमा कोभिड पुष्टि भएको थियो । उनी आईसीयूमा उपचाररत भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै वीरगन्ज श्रीपुरका ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मृत्यु भएको थियो। मरणोपरान्त परीक्षण गर्दा साउन २१ गते उनमा कोभिड भएको पुष्टि भएको थियो ।

वीरगन्ज श्रीपुरकै अर्का ४७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो। उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुको रोग भएको तथा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी साउन २० गते अस्पतालमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

त्यसैगरी सिराहा गोलबजारका २५ वर्षीय युवकको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २२ गते राति मृत्यु भएको हो । उनलाई मिर्गौलाको समस्या थियो। साउन १८ गतेदेखि जनकपुर अस्पतालमा डायलिसिस गर्न थालिएको थियो । साउन १७ गते सङ्कलित नमुनाको २१ गते परिणाम आउँदा उनमा कोभिड पुष्टि भएको थियो। थप उपचारका लागि उनलाई २२ गते नै धरान पठाइएको थियो ।

सिराहा वसन्तपुरका ४५ वर्षीय व्यक्तिको पाटन अस्पतालमा साउन २३ गते बिहान मृत्यु भएको हो । साउम १९ गते कुकुरले टोकेपछि उनलाई अस्पताल भर्ना गरिएको र रेबिज रोगको शङ्का गरिएको मन्त्रालयले जनाएको छ । परीक्षण गर्दा उनलाई शुक्रवार बिहान नै कोभिड पुष्टि भएको थियो ।



Tags: