
पोखरा, २४ साउन । पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म ६ हजार २ सय ६ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ८८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ४ लाख ३५ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शनिवारसम्म क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ४९९ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १६ हजार ३ सय १३ रहेको प्रवक्ता डा गौतमले बताए ।
नेपालमा कोरोना मुक्त भएको जिल्लाहरु ७ वटा जिल्ला रहेको प्रवक्ता गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना संक्रमण शून्यमा झरेको हो।