आज विश्व आदिवासी जनजाति दिवस, विविध कार्यक्रम गरि मनाइँदै

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित


पोखरा । आज विश्व आदिवासी जनजाति दिवस । ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २६औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ, पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने नाराका साथ नेपाललमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

देशैभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो। आदिवासी जनजातिहरुको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन उक्त दिवस मनाउने गरिन्छ । आफ्नै कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिले बेजोड समृद्ध आदिवासीहरूले आफ्नो हक अधिकारका लागि आदिवासी जनजाति दिवस मनाइन्छ ।

विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा मनाउन लागेको दिवस मूल आयोजक समितिका अध्यक्ष तथा संयोजक जगतबहादुर बरामले जानकारी दिए।

विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन ९सन् १९८२ को अगस्ट ९० को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।

प्रधानमन्त्रीद्वारा सुरक्षित हुने उपाय अवलम्बन गर्दै विश्व आदिवासी जनजाति दिवस मनाउन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन सबैमा आह्वान गरेका छन् । प्रधानमन्त्रीले २६औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल लगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजातिमा शुभकामना व्यक्त गर्दै सुरक्षितसाथ दिवस मनाउन आह्वान गरेको हो ।
सन्देशमा प्रधानमन्त्रीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिलाई ध्यानमा राखी यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता हामीसामु भएको बताए ।

प्रधानमन्त्रीले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि हाम्रो मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर हुने विश्वास व्यक्त गरे। उनले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हामीले तय गरेको बताए । प्रधानमन्त्रीको सन्देशमा ‘यस्तो बेला विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीले नेपाल लगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको छ, विश्वसामु खडा भएको यस चुनौतीको सामना गर्दै हामी राष्ट्रको आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर छौँ’ उल्लेख छ ।