स्वास्थ्य क्षेत्र सबैका लागि उदाहरण बनाउँछौं : मुख्यमन्त्री

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित


पर्वत, २५ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको पहुँचलाई आधारभूत बनाउँदै गण्डकी प्रदेशको स्वास्थ्य सेवालाई अन्य प्रदेशको माझमा उदाहरण बनाउने दावी गरेका छन् । पर्वत अस्पतालमा सुरु भएको मिर्गौलाको निःशुल्क डायलासिस सेवाको शुभारम्भ गर्दै उनले प्रदेशका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जोड्न ४ कुराहरूमा विशेष जोड दिइएको र त्यसबाटै प्रदेशको स्वास्थ्य अवस्था बलियो बन्ने बताए । स्वास्थ्य संस्थामा जनशक्तिको उपलब्धता, भौतिक संरचना निर्माण, स्रोत र उपकरण तथा चिकित्सकहरूमा दिइने ऊर्जाले नै प्रदेशमा स्वास्थ्यको अवस्था बलियो पार्ने गरी प्रदेशले काम गरिरहेको उनको भनाई छ ।

जिल्ला अस्पतालहरूलाई राष्ट्रिय मापदण्डमा लैजाने गरी काम हुनुपर्ने र अहिले पनि डक्टरको दरबन्दी एकातिर काम गर्ने अर्कोतिर भइरहेको बताउँदै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउन जनशक्ति ब्यबस्थपन र भौतिक पूर्वाधार विकासका लागि प्रभावकारी काम भएको उल्लेख गरे ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेश सरकारले जनता सरकारी अस्पतालमा आउँदा निराश भएर फर्कन नपर्ने गरी सेवा र पूर्वाधार विकासको काम गरिरहेको बताईन् । नागरिकले सेवा लिने भएकाले सरकारी अस्पतालमा उत्कृष्ट सेवासहित स्वास्थ्यकर्मीको बोल्ने शैलीमा पनि मिठास हुनुपर्ने उनको भनाई छ ।

डायलासिस सेवा सुरु भएसँगै पर्वतका मिर्गौला सम्बन्धी बिरामीले डायलासिस गराउन पोखरा जानुपर्ने बाध्यता अन्त्य भएको छ । पर्वत अस्पतालमा दैनिक ९ जनाले तत्काल सेवा लिन सक्ने गरी सेवा सुरु गरिएको छ । डायलसिस सेवा सुरु गर्न ४ वटा मेसिन जडान गरिएको छ । एक महिना सम्म पहिलो सिफ्टमा ९ जनालाई सेवा दिन सक्ने र जनशक्ति थप भएमा १८ जनालाई सेवा दिन सकिने पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शिशिर देवकोटाले जानकारी दिए ।

– ढोरपाटन