
फोटोः फू लोब्साङ्ग शेर्पा, मछेर्मो, सोलुखुम्बु
बिशेष गरिे नेपालको पूर्वी तराईमा समुन्द्री सतह देखि १२० मिटरमा पाईने हरित गर्दने ठेउवा चरा हाल सम्मकै उच्च स्थानमा अभिलेख गरिएको छ । सोलुखुम्बु जिल्लामा अबस्थित विश्वकै चर्चित पर्यटकीय गन्तब्य सगरमाथा राष्ट्रिय निकुञ्जको गोक्यो उपत्यकाको मछेर्मो (४४७० मिटर) मा यहि श्रावण २३ गते शुक्रबारका दिन उक्त प्रजाति भेटिएको थियो ।
मछेर्मोको होटल ‘लज इन मछेर्मो’ का सञ्चालक तथा निर्देशक फू लोब्साङ्ग शेर्पाले पर्खालमा बसेको उक्त प्रजाति उड्दा चमकदार निलो रङ्गको देखिएर उत्सुक भई मोबाइलबाटै फोटो खिच्नु भएको थियो । पछि आफ्ना साथी पथ-प्रदर्शक तथा पंछीबिद प्रताप गुरुङलाई उक्त फोटो पठाएपछि यस प्रजातिको बारेमा चासो बढेको थियो । पंछीका फोटा पनि खिच्ने गुरुङले यस प्रजाति यति उच्च स्थानमा भेटिएको जानकारी आफ्ना अग्रज तथा नेपाल पंछी संरक्षण संघका उपाध्यक्ष बिमल थापालाई गर्नु भएको थियो । साथै यस पंक्तिकारलाई समेत जानकारी गराउनु भएको थियो । यस बिषयमा खोजी गर्दा यो प्रजाति नेपालको संकटापन्न पंछी संम्बन्धी रातो किताबमा सन् १९५० मा ३६५५ मिटरको उचाईमा मनाङ जिल्लाको मनाङभोटमा अभिलेख गरिएको (लिन्डेस १९५५) र हालको अभिलेख हाल सम्मकै उच्च स्थानमा अभिलेख भएको पाइएको छ ।

१९ औं शताब्दीमा ब्रायन हड्सनले पहिलो पटक नेपालमा अभिलेख गरिएको यो प्रजाति कोरासिफम्स उपपरिबारको कोरासिडी उपजातिमा पर्ने यसलाई अंग्रजीमा इण्डोचाइनिज रोलर भनिन्छ भने बैज्ञानिक नाम कोरासिएस एफिन्स हो । एउटै गुणहरु रहेका दुई उप प्रजातिहरु हुने यस प्रजातिको पूर्बीय उपप्रजाति (कोरासिएस एफिन्स) लाई सन् २०१८ मा बर्डलाईफ इन्टरनेशनले इण्डियन रोलर (कोरासिएस बेङ्घलेन्सिस) बाट छुट्याएर अर्को उप प्रजाति बनाइएको हो । कोरासिएस बेङ्घालेन्सिस भने नेपालको पूर्ब देखि पश्चिम सम्म तराईको समथर भुभाग समुन्द्री सतहको ७५ मिटर देखि १०५० मिटर सम्म प्रचुर र ब्यापक रुपमा फैलिएको रैथाने प्रजाति हो ।
कतिपय पंछीका बच्चाहरु गुँडबाट निस्किसके पछि उड्ने तथा उत्सुक यात्राका क्रममा ठाउँ परिबर्तन गर्दै जानु, पंछीहरुको अनियमित आवत जावत हुनु तथा पछिल्ला बर्षहरुमा देखिएको जलबायु परिबर्तन नै पंछीहरुको अनपेक्षित रुपमा देखिनुको मुख्य कारण रहेको लामो समय पंछी अध्ययन अनुसन्धान गर्दे आउनु भएका बरिष्ठ पंछीबिद तथा जुलोजिकल सोसाईटी अफ लण्डन का नेपाल प्रतिनिधि डा. हेमसागर बराल औल्याउनुहुन्छ । यस प्रकारको बानि ब्याहोराले आफु अचम्मित भएको र यति उच्च भुभागमा उक्त प्रजाति कहिल्यै नदेखिएको पंछीबिद टिकाराम गिरी, हठन चौधरी, बद्रि चौधरी, सुचित बस्नेत, रमेश चौधरी, बासु बिडारी, बिमल थापा, सोम जि.सि., सञ्जिब आचार्य, गोपी श्रेष्ठ, प्रताप गुरुङ तथा नेपाल पंछी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ बताउनुहुन्छ ।

आईयूसियन को कम चासोको स्थानमा राखिएको यस प्रजातिको नेपालमा हालसम्म कुनै बैज्ञानिक रुपमा अनुसन्धान तथा तथ्याङ्क संकलनहरु गरिएको छैन । पूर्बी तराई बाहेक चितबनको हात्ति प्रजनन केन्द्र परिसर (जिसी र घिमिरे, २०१६) मा भेटिएको यो प्रजाति खेतबारी, बगैचा, बिजुलीका तार, जोतिएका खेतहरु, खुल्ला सदाबहार वनहरुमा भेटिन्छन् । यो प्रजातिले मुख्य गरि पुतली, धमिरा, कमिला, भ्यागुता, छेपारो, साना सर्पहरु, खेतबारीमा पाईने साना मुसाहरु, माकुराहरु तथा अन्य चराका बच्चाहरुको समेत आहारा गर्दछन् । कृषिमा अत्याधिक किटनाशक औषधीको प्रयोगले यो प्रजातिको आहाराहरु कमि भई स्थान परिबर्तन तथा बिभिन्न स्थानहरुमा स्थानीय स्तरमा निरन्तर घटिरहेको छ (घिमिरे एट अल, २०१९) ।
लेखक संरक्षणकर्मी, अनुसन्धानकर्मी तथा पोखरा पंछी समाजका अध्यक्ष हुन् ।

